सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको केन्द्रमा छ । दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ ।
‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका छन् ।
साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको ५ दिनअघि युट्युबमा रिलिज भएको ट्रेलरले दर्शकलाई आकर्षित गर्न सफल देखिएको छ । ट्रेलरले ७ लाख ३० हजार भन्दा बढी भ्यूजसहित मुभी सेक्सनतर्फ ट्रेनिङको पहिलो स्थान समेत कब्जा गरेको छ ।
यस चलचित्रको ट्रेलर हेरेपछि दर्शकहरूले उत्साह व्यक्त गरेका छन् । ट्रेलरमार्फत नै दर्शकको मन जित्दै सिनेमाप्रति उच्च कौतुहलता जगाएको छ । ट्रेलरले पाएको यो ‘हाइप’ ले साउन १ गतेदेखि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
ट्रेलरले एउटी ग्रामीण भेगकी युवती ‘गौँथली’ (सिम्रन खड्का) को शिक्षाप्रतिको तिर्खा र उनले भोग्नुपरेको सामाजिक पीडालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । ट्रेलरको सुरुवातमा स्कुले जीवन र पढाइमा अब्बल गौँथलीलाई देखाइएको छ, जसका गुरुले उनलाई ‘एसएससी’ पास गराउने सपना देख्छन् । तर, पारिवारिक बाध्यताका कारण उनको बालविवाह हुन्छ ।
विवाहपछि गौँथलीको जीवनमा आउने उतारचढाव ट्रेलरको मुख्य आकर्षण हो । अरुण क्षेत्रीले निर्वाह गरेको पात्र केही भिन्न र सरल स्वभावको देखिएको छ, जसले गौँथलीको पढ्ने चाहनामा साथ दिन खोज्छ । तर, घरकी सासू र समाजको कठोर सोचले उनको पुस्तक जलाइन्छ र उनलाई पढ्नबाट वञ्चित गरिन्छ ।
ट्रेलरमा अभिनेता अरुणको अभिनयले धेरैको ध्यान खिचेको छ । उनको ‘अनोठो’ र ‘निर्दोष’ चरित्रले फिल्ममा केही नयाँपन दिने संकेत गरेको छ । त्यस्तै, अभिनेत्री सिम्रनले गौँथलीको भूमिकामा जीवन्त अभिनय गरेकी छिन् । आँशु, संघर्ष र विद्रोहको भाव उनको अनुहारमा स्पष्ट देख्न सकिन्छ ।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने मूल सन्देश बोकेको यो चलचित्रले पहाडी भेगको यथार्थ परिवेशलाई समेटेको छ यस कारण ‘गौँथली’ले समाजमा सकारात्मक सन्देश दिने विश्वास पनि दर्शकहरूले व्यक्त गरेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा यो सिनेमाप्रति दर्शकको चासो उल्लेख्य रूपमा बढेको देखिन्छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।





प्रतिक्रिया