सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता आकाश श्रेष्ठले अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध पहिलोपटक खुलेर स्वीकार गरेका छन्। सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममा करुणासँगका दुई तस्वीर सार्वजनिक गर्दै आकाशले आफूहरू पाँच वर्षदेखि सँगै रहेको बताएका हुन्।

आकाशले तस्वीरसँगै लेखेका छन्, ‘पाँच वर्षको हाम्रो साथ, पछाडि छोडिएका अनगिन्ती सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगिन्ती खुसीका क्षणहरू, अनि अनन्तसम्म सँगै रहने एउटा जीवन।’

आकाश र करुणाको सम्बन्धबारे केही वर्षयता चर्चा हुँदै आए पनि उनीहरूले यसलाई औपचारिक रूपमा स्वीकार गरेका थिएनन्। मिडियामा सम्बन्धबारे प्रश्न उठ्दा आकाशले आफूहरू ‘साथी मात्र’ भएको बताउँदै आएका थिए। यद्यपि, पछिल्लो समय करुणाको जन्मदिनलगायत विशेष अवसरमा आकाशले सामाजिक सञ्जालमा व्यक्त गर्ने शब्दले उनीहरूबीचको सम्बन्धबारे संकेत गर्दै आएको थियो।

आकाश विगत एक दशकमा विभिन्न अभिनेत्रीहरूसँगको सम्बन्धको चर्चाका कारण पनि समाचारमा आउने गरेका छन्। यसअघि एक अभिनेत्रीसँग विवाहको योजनासम्म पुगेको चर्चा भए पनि उक्त सम्बन्ध लामो समय टिक्न सकेन। आकाश र करुणा भने करिब पाँच वर्षदेखि सम्बन्धमा रहेको बताइन्छ। उनीहरूको भेट म्युजिक भिडियोमा सँगै काम गर्ने क्रममा भएको थियो। मित्रताबाट सुरु भएको सम्बन्ध पछि प्रेममा परिणत भएको हो।

विगत पाँच वर्षमा आकाश र करुणाले दर्जनौँ म्युजिक भिडियोमा सँगै अभिनय गरिसकेका छन्। करुणाले फिल्म ‘१०० कडा १०’बाट अभिनयमा डेब्यु गरेकी हुन् भने आकाशले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। यसैबीच, निकट स्रोतका अनुसार आकाश र करुणाले यसै वर्ष विवाह गर्ने तयारी गरेका छन्। उनीहरूको सम्बन्धलाई दुवै परिवारको समेत स्वीकृति रहेको र उनीहरू एकअर्काको परिवारसँग घुलमिल भइसकेको स्रोतको दाबी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com