सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘हली’ले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । गत साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले भदौ १४ गतेसम्म २३ लाख ११ हजार २ सय ७० रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेमा @ बक्सअफिस’को तथ्यांकले देखाएको छ। उक्त अवधिसम्म फिल्मका ८ हजार ४ सय ६३ वटा टिकट बिक्री भएका छन्।

छाउपडी प्रथाजस्तो सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘हली’लाई ओम प्रतीकले निर्देशन गरेका हुन्। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन् भने अर्जुन भुसाल कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ। निर्देशक ओम प्रतीकले पनि फिल्ममा अभिनय गरेका छन्।

फिल्मको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। निर्माता जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्तिश्री परियारको स्वरमा गीत समावेश गरिएको छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको फिल्मको वितरण नेशनल सिने ग्रुपले गरेको हो। ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com