सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा बाढीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ ।

यसैबीच, हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले बाढीपीडितका लागि ११ लाख ३ हजार २ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको छ। फिल्मका निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गरेका हुन्।

शुक्रबार देशभरको घरेलु बक्स अफिसमा फिल्मले गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताको भागमा पर्ने रकम कोषमा प्रदान गरिएको हो ।निर्देशक नीता ढुङ्गानाले अकल्पनीय विपद्मा परेका बाढीपीडितलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन्।

उनले भनिन्, ‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २ सय ७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।’

ढुङ्गानाले आफूले पैसा कमाउने उद्देश्यले मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा पनि भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेको बताएकी छन् । उनले फिल्म प्रदर्शनमा रहेसम्मको आम्दानीबाट ५ प्रतिशत रकम बाढीपीडितका लागि सहयोग गर्ने निर्णयसमेत गरेको जानकारी दिएकी छन् ।

निर्माता हरिहर अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गरिएको बताए। फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

वितरक करण श्रेष्ठका अनुसार फिल्मले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कमाएको छ । आइतबार र सोमबारको आधिकारिक कमाइ भने सार्वजनिक भइसकेको छैन ।

फिल्मले सोमबार पनि देशभरका हलमा उल्लेख्य शो पाएको छ । मंगलबारका लागि पनि देशभरका हलमा एक सयभन्दा बढी शो तय भएको निर्माण पक्षले जनाएको छ । नीता ढुङ्गानाको मुख्य भूमिका रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारी, राधिका कँडेललगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक नीता ढुङ्गानाकै कथा तथा पटकथा र शिवम् अधिकारीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । हरिहर अधिकारी निर्माता रहेको फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com