सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। ७ मिनेट लामो गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र जेठानी र देउरानीबीचको झगडालाई प्रस्तुत गरिएको छ। फिल्ममा केकी अधिकारी जेठानी र आँचल शर्मा देउरानीको भूमिकामा छन्। गीतमा यी दुई अभिनेत्रीबीचको दोहोरी र झगडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। गीतमा प्रयोग गरिएका संवाद तथा लाइनहरू सामाजिक सञ्जालमा चर्चामा आउन सक्ने देखिन्छ। गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। केकी र आँचलले गीतलाई दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरेका छन्।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा फिल्मका लगानीकर्ता हुन् भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेका छन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी र आँचलका अलावा महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।









प्रतिक्रिया