सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सफलतापूर्वक प्रदर्शनरत फिल्म ‘पार्वती’ को नयाँ गीत ‘भगवान सबैको होइन र’ सार्वजनिक गरिएको छ । मार्मिक भाव बोकेको गीतको भिडियोमा फिल्मकी मुख्य कलाकार तथा निर्देशक नीता ढुङ्गाना प्रस्तुत भएकी छन् । गीतमा ‘भगवान सबैको होइन र’ र ‘म अरूजस्तै होइन’जस्ता भावपूर्ण शब्द समेटिएका छन्। गीतले फिल्मको कथासँगै पात्रको भावनात्मक अवस्थालाई समेत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

ममता गुरुङको स्वर रहेको गीतमा प्रशान्त सिवाकोटीले संगीत दिएका छन् भने युवराज काफ्लेले शब्द रचना गरेका हुन्। फिल्मको कथाअनुसारकै भाव गीतका शब्दमा समेत झल्किने निर्माण पक्षको भनाइ छ।

नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्मको कथा पनि उनकै हो। फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय छ।

फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोजस्तो प्राकृतिक विपत्तिको अवस्थाबीच पनि दर्शकले फिल्मलाई साथ दिइरहेको निर्माण पक्षको दाबी छ।

‘पार्वती’का यसअघि ‘मेरी दिदी’ र ‘नौतुना रेल’ गीत सार्वजनिक भइसकेका छन्। फिल्मलाई वितरक कम्पनी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com