सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । असोज २ देखि प्रदर्शन फिल्म ‘कार्की साइँला’ ले पहिलो दिन बिहानी शो बाटै दर्शकको माया पाएको र प्रारम्भिक व्यापार उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मकी मुख्य अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले डेब्युको रुपमा लिएकी छिन् । फिल्मको सफलताको कामना गर्दै विभिन्न सेलिब्रेटीले पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन्। उनीहरूले दर्शकलाई फिल्म हेर्न हलसम्म पुग्न आग्रह गरेका छन्।
‘कार्की साइँला’ भारी बोकेर जीविका चलाउने एक भरियाको जीवनका उतारचढाव तथा आम नेपालीले भोग्ने सामाजिक र पारिवारिक परिस्थितिमा आधारित कथा हो। फिल्ममा प्रियना आचार्य र जितु नेपाल मुख्य भूमिकामा छन्।
फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दीप्सन लिम्बू, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा बालकुमार राईको लगानी, कृष्ण भगत चाम्लिङको प्रस्तुति तथा अनन्त राईको कार्यकारी निर्माण रहेको छ। सबिन अधिकारी र शंकर धितालको लेखन रहेको फिल्मको छायांकन डम्बर राईले गरेका हुन्। रोजल थापा मुख्य सहायक निर्देशक हुन्।
धनकुटा तथा सुनसरीको बराहक्षेत्र र चतरालगायत स्थानमा छायांकन गरिएको फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन तथा दीप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको छ। फिल्मको ‘लग्यौ परान’ गीतले पछिल्लो समय दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट, रबी केसीको शृंगार तथा मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोसन पिक्चर्सले गरेको हो। फिल्मलाई कुबेर फिल्म्सले देशभर वितरण गरेको छ।






प्रतिक्रिया