सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘पलेँटी’को ८१औँ शृङ्खलामा शुक्रबार साँझ गीतकार निर शाहका गीत प्रस्तुत गरिएको छ । सीमित दर्शकमाझ आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त अभिनेता तथा निर्देशकसमेत रहेका शाहका १४ गीत प्रस्तुत गरिएका हुन् ।
कार्यक्रममा गीतकार शाह स्वयं उपस्थित थिए । उनका गीतका रचनागर्भ र ती गीतसँग जोडिएका प्रसंग तथा कथाहरू उनकै मुखबाट सुन्न पाउनु दर्शकका लागि विशेष र अविस्मरणीय क्षण बनेको थियो । मधुर स्वरका धनी गायक-गायिका अभिज्ञा घिमिरे र रूपक चौधरीले कार्यक्रममा शाहका १४ गीत प्रस्तुत गरे।
कार्यक्रममा प्रस्तुत गीतहरूमा ‘गहिराइमा डुब्दै न डुब’, ‘कहिलेकाहीँ म हाँस्छु, धेरै बेर हाँस्छु’, ‘पर्खी बसेँ आउला भनी’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ, आकार बदल्न सकूँ’, ‘मैले मेरो माया टाढा टाढा छोडेर आएँ’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘जुनतारा जडेको’, ‘हिउँभन्दा चिसो’, ‘मेरी बसन्ती प्यारी बसन्ती’, ‘आँखैमा कसको तस्बिर बसेछ’, ‘जति निर्मल जति चोखो’, ‘छोरी मलाई भागी भागी’ र ‘को हो त्यो’ रहेका थिए।
गीत प्रस्तुतिसँगै शाहले आफ्ना सिर्जनासँग जोडिएका अनुभव र गीत लेख्दाका प्रसंग सुनाएका थिए। यसले कार्यक्रमलाई गीत प्रस्तुतिको मात्र नभई सिर्जनाको पृष्ठभूमि बुझ्ने अवसरका रूपमा समेत प्रस्तुत गरेको थियो।







प्रतिक्रिया