सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । इन्द्रजात्रा अर्थात् येँया पुन्हि काठमाडौं उपत्यकाको प्रमुख तथा भव्य परम्परागत पर्वमध्ये एक हो। विशेषगरी काठमाडौं र नेवार समुदायका लागि सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको यो पर्व विभिन्न जात्रा, नाच, संगीत र धार्मिक विधिसहित आठ दिनसम्म मनाइन्छ।
इन्द्र जात्राका क्रममा काठमाडौंको ऐतिहासिक केन्द्र वसन्तपुर तथा आसपासका क्षेत्र धार्मिक तथा सांस्कृतिक गतिविधिले गुञ्जायमान हुन्छन्। कुमारी, गणेश र भैरवका रथयात्रा, लाखे नाच तथा विभिन्न परम्परागत नृत्य र सांस्कृतिक गतिविधि यस पर्वका प्रमुख आकर्षण हुन्।
वर्षा र स्वर्गका देवता मानिने इन्द्रको सम्मानमा मनाइने यो पर्व काठमाडौं उपत्यकाको प्राचीन कृषि परम्परा र धार्मिक विश्वाससँग समेत जोडिएको छ। जात्राले काठमाडौंमा शताब्दीयौँदेखि विकसित हुँदै आएका नेवार समुदायका धार्मिक, सांस्कृतिक, कलात्मक र सामुदायिक परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्छ।

यही सांस्कृतिक पर्वको मुख्य कार्यक्रमको तस्बिर खिच्न दक्षिण एसियाली फोटो पत्रकार विकास रौनियार बिहीबार पुनः वसन्तपुर पुगेका थिए। काठमाडौंको मखन टोलमा हुर्किएका रौनियारका लागि इन्द्र जात्रा आफ्नै बाल्यकाल र काठमाडौंको सांस्कृतिक जीवनसँग जोडिएको पर्वसमेत हो।
इन्द्र जात्रालाई काठमाडौंको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा मानिन्छ। कुमारीको रथयात्रादेखि लाखे नाचसम्मका परम्परागत गतिविधिले यस पर्वलाई धार्मिक आस्था, कला, संस्कृति र सामुदायिक सहभागिताको संगमका रूपमा प्रस्तुत गर्छन्।







प्रतिक्रिया