सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चर्चित फिल्म ‘द डर्टी पिक्चर’को सिक्वेल बन्ने भएको छ । सन् २०११ मा प्रदर्शनमा आएको विद्या बालन अभिनीत यस फिल्मको १५ वर्षपछि दोस्रो भाग निर्माण गर्न लागिएको हो ।

निर्माता एकता कपूरले ‘द डर्टी पिक्चर २’ निर्माणको तयारी भइरहेको पुष्टि गरेकी छन्। एकताका अनुसार लामो समयपछि आफूले भन्न चाहेको कथा भेटेकाले दोस्रो भाग निर्माण गर्न लागेकी हुन्।

‘मैले बनाउन लागेको एउटा ठूलो फिल्म ‘द डर्टी पिक्चर २’ हो। १५ वर्षपछि यसको योजना बनाउँदै छु। यसपटक मसँग भन्न चाहेको एउटा कथा छ भन्ने लाग्छ,’ उनले भनेकी छन्।

एकताले पहिलो भाग दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित रहेको स्मरण गरिन्। उनका अनुसार फिल्मले आफ्नो यौनिक स्वतन्त्रताका पक्षमा उभिँदा समाजको आलोचना खेपेकी महिलाको कथा प्रस्तुत गरेको थियो।

एकताले सिल्क स्मितालाई आफूले कहिल्यै पीडित महिलाका रूपमा नहेरेको पनि बताएकी छन्। बरु आफ्नो स्वतन्त्रता र रोजाइलाई खुलेर स्वीकार गर्ने महिलाका रूपमा हेरेको उनको भनाइ छ।

एकताका अनुसार सिक्वेल पनि एक चर्चित व्यक्तिको जीवनकथामा केन्द्रित हुनेछ। तर, फिल्म कसको जीवनमा आधारित हुनेछ भन्नेबारे उनले खुलाएकी छैनन्। यस विषयमा चाँडै ठूलो घोषणा हुन सक्ने संकेत भने गरेकी छन्।

‘द डर्टी पिक्चर २’ मा को-को कलाकार रहनेछन् भन्ने पनि सार्वजनिक भएको छैन। फिल्मको निर्देशन कसले गर्ने र कहिले प्रदर्शनमा आउने भन्नेबारे समेत जानकारी दिइएको छैन।

सन् २०११ मा प्रदर्शन भएको ‘द डर्टी पिक्चर’मा विद्या बालन मुख्य भूमिकामा थिइन्। फिल्ममा नसिरुद्दिन शाह, इमरान हाशमी र तुषार कपूरको पनि अभिनय थियो। प्रदर्शनका बेला चर्चामा रहेको यस फिल्ममा विद्याको अभिनयले विशेष प्रशंसा पाएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com