सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । उक्त ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा शीर्ष स्थानमा उक्लिएको छ। ट्रेलर युट्युबको मुभिज विधातर्फ ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएको हो।
दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखिएका दयाहाङ राई तथा नयाँ पात्रका रूपमा जोडिएका विपीन कार्कीको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका छन्।
विशेषगरी, विपीन कार्कीको नयाँ अवतारलाई लिएर दर्शक उत्साहित देखिएका छन्। ट्रेलरमा उनको भूमिकालाई रहस्यमय ढंगले प्रस्तुत गरिएकाले दर्शकमाझ उत्सुकता बढेको देखिन्छ।
छोटो समयमै ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएपछि फिल्मप्रति अपेक्षा र चासो बढेको छ। ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले पनि ‘कबड्डी’ शृङ्खलाको नयाँ फिल्मप्रति दर्शकको आकर्षण रहेको संकेत गरेको छ।
ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उनको जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन गर्न थालेपछि कथाले नयाँ मोड लिएको देखिन्छ। त्यस्तै, सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगर अर्थात् शान्ति मिसको झलक र विपीन कार्कीको दमदार प्रवेश ट्रेलरका प्रमुख आकर्षण बनेका छन्।
हास्य, पारिवारिक उतारचढाव, सम्बन्धमा आउने ट्विस्ट र एक्सन समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानै स्वादसँगै नयाँपन दिने संकेत गरेको छ। विशेषगरी, काजीको जीवनमा आउने नयाँ परिस्थितिले कथालाई कुन दिशामा लैजान्छ भन्ने जिज्ञासा ट्रेलरले सिर्जना गरेको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म यही असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईँलगायत कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको छ। फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।
फिल्मको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।







प्रतिक्रिया