सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । काठमाडौँ फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी प्रख्यात भारतीय अभिनेत्री शबाना आजमीले शनिबार नेपाल पर्यटन बोर्डको हलमा नेपाली अभिनेत्री स्वस्तिमा खड्कासँग कुराकानी तथा प्रश्नोत्तर सत्रमा भाग लिएकी छन्।

करिब दुई घण्टा चलेको सत्रमा उनले आफ्नो फिल्म यात्रा र भारतीय फिल्म उद्योगका विभिन्न पक्षबारे अनुभव सुनाइन् । फिल्म सुटिङका सुरुवाती दिन सम्झँदै उनले त्यतिबेला कलाकारका लागि निजी भ्यानको सुविधा नहुने र रूखको आडमा गएर लुगा फेर्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले कला र व्यावसायिक फिल्मबीच कसरी सन्तुलन कायम गरिन् भन्नेबारे पनि चर्चा गरिन् । महान् फिल्म निर्देशक सत्यजित रेसँग काम गर्दाको अनुभव सुनाउनुका साथै अमिताभ बच्चनले कठिन परिस्थितिमा पनि व्यावसायिक ढंगले काम गरेको भन्दै प्रशंसा गरिन्।

कुराकानीका क्रममा उनले अर्थपूर्ण फिल्म ‘अर्थ’मा काम गर्दाको प्रसंग पनि सम्झिइन्। उक्त फिल्मको अन्तिम दृश्यमा आफ्नो पात्रले पूर्वपतिलाई स्वीकार गर्ने कथ्य आफूलाई चित्त नबुझेपछि उनले निर्देशक महेश भट्टसँगै त्यसलाई परिवर्तन गर्न अस्वीकार गरेको बताइन्।

फिल्ममा पूर्वपतिको भूमिका कुलभूषण खरबन्दाले निर्वाह गरेका थिए। शबानाका अनुभव सुन्न र उनीसँग अन्तर्क्रिया गर्न पाउँदा कार्यक्रममा सहभागी दर्शक उत्साहित देखिएका थिए।

तस्बिर : बिकास रौनियार

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com