सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ ।
दयाहाङ भन्छन्, “नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।”
उनका अनुसार ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो – यस्तो किन भइरहेको छ ? कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ ? यी सबै प्रश्नहरूको उत्तर चलचित्रले खोजेको छ ।
दयाहाङले चलचित्रले विशिष्ट प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे । “मैले यति प्रतिशत भन्दिन तर ‘महाभोज’ले हरेक नेपालीलाई छोइहाल्छ । यो आम जनताको कथा हो,” उनले बताए ।
चलचित्र ‘महाभोज’ को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग सङ्घर्ष, पारिवारिक, सामाजिक तथा नैतिक सङ्कटको वरिपरि घुम्छ । चलचित्रले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्छ ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरिया निर्माता हुन् । कथा तथा पटकथा सुवेदीले लेखेका छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको ‘महाभोज’ एकै दिन नेपालसहित विदेशका विभिन्न देशमा प्रदर्शनमा आउने तयारीमा छ ।
यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।
‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।
प्रतिक्रिया