सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चलचित्र युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो।

ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबिच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com