सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दश वर्षपछि चलचित्र ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्। उनले मंगलबार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गर्दै चलचित्र रिलिजको लागि आफु अष्ट्रेलिया र न्युजल्याण्ड उड्न लागेको बताए।

उनले अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै चलचित्र प्रदर्शन गर्न लागेको बताए। उनले त्यसैको चाँजोपाँजो मिलाउन आफु जान लागेको जानकारी दिए।
‘म अहिले अष्ट्रेलिया र न्युजल्याण्ड जाँदै छु,यहि ‘पिआर’को सम्बन्धमा,’उनले भने,‘१०–१२ दिनको लागि। न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै चलचित्र लगाउ भनेर त्यसैको तयारीमा म निस्किन लागेको हो।’

उनले तीन महिनाअघि नै अष्ट्रेलियाका विभिन्न शहरमा यो चलचित्र प्रदर्शन गरिसकेका छन्। जहाँ यो चलचित्रलाई हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए। उनले थपे, ‘अष्ट्रेलिया,न्युजिल्याण्डपछि पोर्चुगल लगायत देशमा पनि यो चलचित्र प्रदर्शनका लागि तयारी भइरहेको छ। यो बाहेक अन्य देशमा पनि केहि दिनमा नै चलचित्र प्रदर्शनको टुङ्गो लाग्नेछ।’

शोभित बस्नेतले आफ्नै घरको कथा हेरेर अरुको कथा भन्नका लागि पीआर तयार पारेको बताए।
उनले थपे,‘एक त मैले छोरी (सलिना)बाट नै पीआरको कथा पाएको हो। जब एउटा बच्चा विदेश जाँदा हामी बाउआमा नेपालमा बसेर हाम्रो दिमागमा के हुन्छ भने हरेक अष्ट्रेलिया, क्यानडा, जापानमा पैसाको रुख फल्छ। र त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने सोच हुन्थ्यो। मलाई पनि हुन्थ्यो। जब मलाई थाहा भयो कि होइन रहेछ।’

उनले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफु पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ। मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथालाई आफुले चलचित्र ‘पीआर’मार्फत भन्न लागेको बताए। उनी आफ्नो चलचित्र ‘पीआर’ नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए। केहि दिनअघि यो चलचित्रमा समावेश गीत ‘टाटा बाई बाई’लाई दर्शकले अत्यधिक मन पराइदिएको र सोही अनुसार चलचित्र हेर्न दर्शक उत्सुक रहेको उनको भनाई थियो।

उनी विदेशको विभिन्न हलमा आफ्नोचलचित्र प्रदर्शनका लागि व्यापाक लागेका छन्। उनले जापानको प्रदर्शन अधिकार सोल्ट आउट नै भइसकेको बताए।

यहि मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रचारप्रसारका लागि केहि दिनमा नै नेपाल फर्कने बताए। नेपाली चलचित्र ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा चलचित्र वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।

चलचित्रमा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।

यस चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो चलचित्रको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com