सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली चलचित्र ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ।

पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ।

अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।

पोस्टरले विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ। एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको चलचित्रको वास्तविक कथा भने टिजर, ट्रेलर र चलचित्र नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ।

विजय केरुङले निर्देशन गरेको ‘परिवर्तन’मा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

चलचित्रका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ट्रेलर पनि उनीकै सम्पादनमा तयार भइरहेको निर्माण टिमले बताएको छ। चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ।

‘परिवर्तन’ आगामी माघ ९ गते (January 23) बाट देशभर प्रदर्शनमा आउनेछ। यसको डिजिटल साझेदार ओएसआर र वितरण आर.आर. फिल्म्सले गर्दैछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com