सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । यसैले, उनको निर्देशनमा बन्ने यो फिल्म पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

यो फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।

नायक पल शाह र नायिका बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

सार्वजनिक तीन पोस्टरबाट पल र बेनिशाले यसअघि काम नगरेको भूमिकामा काम गर्दैछन् भन्ने प्रष्ट हुन्छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।

यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com