सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली चलचित्र ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो चलचित्र यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत चलचित्र सार्वजनिक गरिएको हो।
लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको चलचित्र ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।
२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।
चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् । भजनशिरोमणि उपाधीपाप्त गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।
प्रतिक्रिया