सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको फस्टलुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो ।

चलचित्रको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए । अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए । ‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,‘ उनले बताए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो ।

चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको निर्माण टिमले जानकारी दिएको छ ।

‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो,‘ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो ।‘

फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो । केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । सती प्रथाको कथामा ‘झोला‘ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर‘ बनाएका थिए।

‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले चलचित्रलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमाचलचित्र बनेको हो।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com