सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब चलचित्रवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् ।
कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए ।
‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, फिल्म बनाउनुपर्यो दाई भनेर आउनुभयो । मैले सुरुमा वास्ता गरिन्, तर दुई तीन पटक नै आएपछि जीवनजीको चलचित्र प्रतिको लगाव, माया र उहाँले मेरो लागि चलचित्र नै सबैथोक हो, फिल्मबाटै आफ्नो लगानी र क्यारियरलाई बलियो र सुरक्षित बनाउनेछु भनेपछि उहाँको लगावप्रति म नतमस्तक भएँ । अनि चलचित्र बनाउन सहमत भएँ’, दीपक भन्छन् । दीपकले निर्देशक जीवनले फिल्म पूर्ण रुपमा बाल विवाहलाई केन्द्रीत गरेर निर्माण गर्ने बताएपछि फिल्म निर्माणमा इच्छुक भएको बताए ।
दीपकले चलचित्रको स्क्रिप्ट पुरा पढेका रहेनछन् । ‘म स्क्रिप्ट भन्दा पनि जीवनजीको आत्मविश्वासमा सहमत भएँ । बिहानदेखि बेलुकासम्म चलचित्रकै लागि लागेको मान्छेले पक्कै केही गर्छ भन्ने मलाई लाग्यो । मलाई फिल्म उद्योगमा छिर्नु नै थियो । त्यसमाथि जीवनजीजस्तो आत्मविश्वासले भरिएको निर्देशक भेटेपछि मैले यही अवसर रोजें’, दीपक खुल्छन् ।
चलचित्र निर्माण गर्ने निर्णय लिएपछि उनले गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालि नामक कम्पनी दर्ता गरे । त्यही कम्पनीमार्फत उनले ‘जुनाः एक व्यथा’ निर्माण गरेका हुन् । सामाजिक सन्देशका चलचित्रमा चासो राख्ने दीपक त्यस्तै सन्देशमूलक फिल्म कम्पनीमार्फत अझ बढी बनाउन चाहन्छन् ।
दीपकका अनुसार जीवनले चलचित्र बनेपछि स्कुल, गाउँपालिका, नगरपालिकामा विशेष शो गर्न सकिने र अन्तर्राष्ट्रिय बजारमा पनि लैजान सकिने भन्दै ‘कन्भिन्स’ गरेका रहेछन् । ‘शिक्षा मन्त्रालयमा हामीले चलचित्र देखाएका थियौं । त्यहाँ मैले पुरा फिल्म हेरें । त्यो चलचित्र पछि मात्र मैले जीवनजीलाई पूर्ण रुपमा चिनें । किनकी चलचित्र मैले सोचेभन्दा राम्रो बनाउनुभएको रहेछ । चलचित्र हेरेपछि मात्र मेरो डर हट्यो । किनकी जीवनजी र भौगोलिक हिसाबले पनि फरक स्थानको भएकाले पनि के हुने हो भन्ने डर थियो’, उनी भन्छन् ।
चलचित्रसँग जोडिने भनेको कलाकार अर्थात् स्टारडम नै हो । चलचित्र ‘जुनाः एक व्यथा’का केही कलाकारबाहेक अधिकांश अनुहार नयाँ नै छन् । ‘स्टारडमसँगै व्यावसायिक चलचित्र आउन थाले । त्यसकारण पनि हामीलाई चलचित्र रिलिज गर्न केही समय गाह्रो भयो । हामीले त कन्टेन्टमा आधारित चलचित्र बनाएका थियौं । त्यसपछि परीक्षणका रुपमा गाउँपालिका, नगरपालिका र स्कुलमा विशेष शो गर्यौ । त्यहाँको शोले अत्यन्तै राम्रो प्रतिक्रिया पायौं । चलचित्र ले दर्शकलाई भावुक बनाएपछि फिल्म सफल हुन्छ भन्नेमा ढुक्क भयौं’, दीपक भन्छन् । ग्रासरुटका कलाकार लिएर चलचित्र बनाएकाले पनि दीपक चलचित्र ‘जुनाः एक व्यथा’लाई प्राकृतिक फिल्म भन्छन् ।
दीपक ‘जुनाः एक व्यथा’लाई ४५ वर्षदेखि ७० वर्ष उमेर समूहका आमाहरुको कथा भन्न रुचाउँछन् । ‘मेरी आमाले १४ वर्षको उमेरमा मलाई जन्म दिनुभयो । जुनाको कथाजस्तै बाल विवाह पछि म जन्मिएँ । जुनाः एक व्यथा सबै आमाको कथा हो’,उनी भन्छन्, ‘फिल्म हेरेपछि बच्चाहरुले बाल विवाह गर्नु हुँदैन र कतिपयले विवाह नै गर्न नहुने रहेछ भन्ने सम्म सोच्न सक्छन् । नारीमाथि बाल विवाहको कारण हिंसा हुनु, अन्याय हुनु पीडादायी हो । त्यो पीडा चलचित्रमा छ । यो चलचित्रले हरेक उमेर समूहलाई छुन्छ ।’
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको चलचित्र ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
प्रतिक्रिया