सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारको परिचय गराएको छ ।
चलचित्र ‘साँघुरो’ का निर्देशक जोयस पाण्डे र नायीका वर्षा राउतको मुख्य भूमिका रहेको नेपाली चलचित्र हो ‘हिउँको गीत’ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायाँकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायाँकन गरिएको चलचित्र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायाँकन गरेको हो यो चलचित्रको । जोयश पाण्डेय र विमल सुवेदीको लेखन रहेको चलचित्रलाई विमल सुवेदीले निर्देशन गरेका छन् ।
नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ । एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् फिल्मले समग्र नेपाली भाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनावद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक(फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई चलचित्रको कथ्यमा समेटिएको निर्माता समुन्द्र राज घिमिरेले जनाए ।
भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन् । ‘हिउँको गीत’ १२ वर्षअघि विजारोपण भएको थियो । सुवेदीले पछि यसलाई नाटकको रुपमा भारतमा प्रस्तुत गरे, जसबाट उनले अत्यन्त प्रसिद्ध तीन वटा मेटा अवार्ड पनि जितेका थिए । गत वर्ष अमेरिकामा सोही कथामा ‘हिटलर आउँदैछ’ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए ।
‘यो चलचित्र नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ,’ निर्देशक सुवेदी भन्छन्( ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौँ व्यक्तिहरुसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो । यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ ।
सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा चलचित्र खिचिएको बताएका छन् । चलचित्र सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरक फरक समूहले समानान्तर रुपमा काम गर्नेछन् । कथ्य संरचना नै बेग्लै रहने अर्को चलचित्रको नाम ‘द स्नो इज सिङ्ङिङ’ राखिएको छ ।
जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माताको रुपमा रहेका छन् भने मनोरथ खनाल, राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेल सह निर्माताका रुपमा रहेका छन् ।चलचित्रलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको चलचित्र निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन् ।
चलचित्रमा वर्षा र जोयशबाहेक पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर.बी.खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजृुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ । चलचित्रमा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् ।चलचित्रलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन् । आयुषा सञ्जेल सहायक निर्देशक रहेको चलचित्रमा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्वसमूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ । चलचित्रमा कौशिला खनाल कर्मचार्य, आर। बी। खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ ।
प्रतिक्रिया