सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका चलचित्रका क्लिप्सहरु हेरेर बिताएको र चलचित्र प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन् । ‘परान’ लाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ ।

‘परान’ चलचित्र मेरा लागि एकदमै विशेष छ। प्रमोसनका लागी पुर्ण समय दिनेछु । पारिवारिक कथामा बनेको चलचित्र सबैलाई मनपर्ने मेरो विश्वास छ।’, उनले भनिन् । ‘निर शाह ज्यूसँग काम गर्न पाउनु मेरो लागी अर्को ठुलो खुसी हो ।’
सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो चलचित्र हो । चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ।

रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी। गुरूङको सम्पादन रहेको चलचित्र ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।
यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो, जसले गर्दा चलचित्रप्रति दर्शकको अपेक्षा झनै उच्च रहेको छ।









प्रतिक्रिया