सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो चलचित्र माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ ।

आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो ।  चलचित्रमा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही चलचित्रबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रुपमा उदाउँदैछन् ।

महिला केन्द्रित चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । चलचित्रमा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी चलचित्र बनेको छ ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रमा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् ।

चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशांखेको डीओपी रहेको चलचित्रमा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।

चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्रले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू चलचित्रमा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए ।

यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई चलचित्रको कथावस्तु मनपर्ने तर्क गरिन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com