सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने चलचित्र ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ । निर्माता समेत रहेका निर्देशक देउजाले यो चलचित्र आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने भएका हुन् ।
यो चलचित्र छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले चलचित्रको मुख्य अभिनेता मुकुन भुषालको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई अनुबन्धित गरेका छन् । निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा चलचित्रबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताउँछन् ।
निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन सकेका थिएन् । सोही विषयमा विवाद भएपछि उनले ‘झिँगेदाउ २’ बाट मुकुनलाई निकालेर महेशलाई अनुबन्धित गर्दै छायांकनमा जान तयार भएका हुन् ।
यस विषयमा हामीले निर्देशक देउजासँग बुझ्दा विवादको कारण खुलाउन नचाहेपनि चलचित्रका मुख्य अभिनेता मुकुन भुषाललाई निकालेको दाबी गरे । अभिनेता भुषालको करियरको पहिलो सुपरहिट चलचित्र नै ‘झिँगेदाउ’ थियो । त्यसअघि उनले केही राम्रा चलचित्रमा अभिनय गरेपनि बक्सअफिसमा सफल हुनसकेका थिएनन् ।
कपनगढी चलचित्र प्रालीको व्यानरमा निर्माण हुने यो चलचित्रमा महेशसहित आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायतका कलाकारलाई भित्र्याएका छन् । यसअघिका कलाकारहरुमा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् छन् ।
चलचित्रका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको चलचित्रमा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।
यो चलचित्रलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी रिलिज गर्नेछ ।










प्रतिक्रिया