सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच चलचित्र ‘रमिताको पिरती’को सुशान्तको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरेका हुन् ।

केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार आएका थिए । योसँगै दुवैको सम्बन्ध सकिएको हल्ला चलेका थिए । तर आनाको मुख्य भूमिका रहेको चलचित्रमा सुशान्तले गीत दिनुले उनीहरुबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ । यति मात्र होइन, सुशान्तले चलचित्र ‘रमिताको पिरती’ राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए ।

सार्वजनिक गीतमा धिरज मगर र आनाबीचका दृश्यहरु समेटिएका छन् । गीतले दुवैबिचका हार्दिक क्षणहरुलाई कैद गरेको देख्न सकिन्छ ।

शुक्रबारदेखि प्रदर्शन थालेको चलचित्रले दिनदिनै दर्शक बढाउँदै गरेको निर्माता सागर लम्सालले जनाएका छन् । उनले शनिबारदेखि चलचित्रले दर्शक र प्रतिक्रिया दुवै राम्रो पाउँदै गएको बताए । अर्का निर्माता सुवास कोइरालाले पनि डिलडेसँगै चलचित्रको व्यापारमा उछाल आउने विश्वास व्यक्त गरेका छन् ।

सुदिप्ताको लेखन तथा निर्देशन रहेको चलचित्रले रमिता नामकी युवतीको सम्बन्धका आयामहरुको कथा प्रस्तुत गर्छ । चलचित्रको लेखन/निर्देशनसँगै अभिनय पक्षको तारिफ भइरहेको छ । आना शर्माको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै दर्शकले सामाजिक सञ्जालमा आनालाई बधाइ दिइरहेका छन् ।

चलचित्रमा आनासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगी आदिको अभिनय रहेको छ । चलचित्रलाई शिशिर विसङखेले छायांकन गरेका हुन् भने सम्पादन गरेका छन् सुनिल शिवभक्तिले ।

https://www.facebook.com/SushantKCOfficial

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com