सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  जुब्ली निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको गीतमा पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । पञ्चमीले यहि चलचित्रबाट डेब्यू गरेकी छन् ।

सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने यसमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ ।

उक्त गीतमा अभिनेता विपिन कार्कीको र्याप सुन्न सकिन्छ । उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर चलचित्रतयार गरेको बताए । ‘यो विषयलाई चलचित्रको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरञ्जनसँगै एउटा महत्वपूर्ण सन्देश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छु’, निर्देशक घिमिरेले भने ।

ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ । ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नु पर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।

आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उनको परिवारले नेपाली फिल्ममा दिएको योगदानको चर्चा गरे ।

यस चलचित्रबाट उहाँकी कान्छी छोरी पञ्चमी पनि चलचित्रमा प्रवेश गरेकी छिन्, यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नु पर्छ । तुलसी दाइको फिल्मको कथ्यशैलीको म सधैँ प्रसंशक हुँ, यसबाट पनि निकै आशावादी छु’, अध्यक्ष डिसीले भने ।

निर्देशक घिमिरेले यसपटक बलिदानमा काम गरेका मदनकृष्ण श्रेष्ठ, चिनोमा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि पहाडमा कास्ट गरेका छन् । चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो तथा दक्षिणालगायतका फिल्ममा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको ‘पहाड’ मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएका छन् । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

चलचित्रमा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् ।

चलचित्र नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

चलचित्रमा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com