सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गतबर्षको हिट चलचित्र ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । गत वर्ष रिलिज भएर बक्स अफिसमा ४ करोड ग्रस कलेक्शन गर्न सफल यो चलचित्रको सिक्वेल ‘मन विनाको धन २’ निर्माणको घोषणा गरिएको हो ।
यो चलचित्रलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुन लागेको हो ।चलचित्रल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम योचलचित्रको कथा लेखिरहेका छन् । चलचित्रमा कथा र संगीत पनि टंककै रहनेछ ।
यसैबिच, यो चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुवन्धित भएकी छिन् । पूजा र टंकबिच आइतबार चलचित्रका लागि कागजी संझौता भएको छ । भदौबाट यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।
चलचित्रमा अरु को कलाकार रहने हुन् भन्ने बिषयमा निर्माणपक्षले केही पनि बताएको छैन । टंकले भने–‘हामी, अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई चलचित्रमा अनुवन्धित गरेका छौं । अरु, कलाकारहरुलाई पनि एकपछि अर्को रुपमा अनुवन्धित गर्ने तयारी भइरहेको छ ।’
नायिका शर्माले पनि यो चलचित्रमा जोडिन पाउँदा आफू खुशी भएको बताइन् । पूजाले भनिन्–‘चलचित्रको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ ।’ चलचित्रलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।








प्रतिक्रिया