सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘प्रिन्स’को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। सोमबार चलचित्रको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ।

रेकर्ड गरिएको गीतमा निर शाहकै शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। यसअघि चलचित्रको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको थियो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रिन्स’को कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रको पटकथा तथा संवाद पनि शिवम अधिकारीकै रहेको छ।

चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

निर्माण पक्षका अनुसार गीत रेकर्डिङको कामसँगै कलाकार तथा अन्य प्राविधिक टोली छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। चलचित्रको सम्पूर्ण कलाकार र प्राविधिक टोलीबारे औपचारिक घोषणा छिट्टै गरिने जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com