सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ । त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठूलो महाविपत्ति देखाउँछ ।

त्यही बीचमा आउने दृश्यमा डाइलग छ– आज बाउको मुख हेर्ने दिन । तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन । यही बेला दिव्यदेव एउटा गाडीमा कतै गइरहेको दृश्य देखिन्छ । अनि आमा छोरी झरना थापा र सुहाना थापा रोइरहेको दृश्य ।

टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ । तर, त्यसको कारण के हो भन्ने खुलाएको छैन । पूर्ण पारिवारिक कथा देखाउन सफल टिजरले परिवारको इमोस्नल कथा देखाएको छ । अचानक घट्ने घटनाले कसरी परिवार तहसनहस हुन्छ भन्ने यो सिनेमाले देखाउने प्रयास गर्ने टिजरले प्रस्ट गरेको छ ।

चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।

यो चलचित्रमा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com