सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा करिब दुई महिना लामो उपचारपछि गायक यम बराल घर फर्किएका छन् । मल्टिपल माइलोमाको समस्याका कारण उनी ३२ दिनअघि अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि चिकित्सकले उनलाई शुक्रबार बेलुकी डिस्चार्ज दिएका हुन् । केही समयअघि ढाड सड्किएपछि चिकित्सकलाई जाँच गराउँदा नसा च्यापिएको पाइएपछि उपचारका लागि अस्पताल भर्ना हुनुपरेको गायक बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा अफवाह तथा अपुष्ट समाचार फैलिएको भन्दै उनले गुनासोसमेत गरेका छन्। उनले आफ्ना प्रशंसक तथा शुभचिन्तकलाई त्यस्ता समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्।
‘मेरो स्वास्थ्यका बारेमा कतिपय भ्रामक र अपुष्ट समाचार तथा पोस्ट आएका थिए। यसमा विश्वास नगर्न मेरा फ्यान र शुभचिन्तकहरूलाई आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘मलाई मल्टिपल माइलोमा भएको हो। यो आत्तिनुपर्ने समस्या होइन। डाक्टरहरूले फलोअपका लागि बोलाउनुभएको छ। अहिलेलाई स्वास्थ्यमा निकै सुधार भएपछि उहाँहरूले डिस्चार्ज दिनुभएको हो। मेरो स्वास्थ्य सामान्य छ, आत्तिनुपर्ने अवस्था त्यस्तो केही छैन।’
मल्टिपल माइलोमा रक्तसम्बन्धी एक प्रकारको क्यान्सर हो, जसले हड्डी तथा शरीरका विभिन्न अंगमा असर पार्न सक्छ। बरालले भने आफ्नो स्वास्थ्यमा सुधार आएको र चिकित्सकको सल्लाहअनुसार फलोअपमा रहने बताएका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था तथा उपचारको अनुभव चाँडै विस्तृत रूपमा सार्वजनिक गर्ने बताएका छन्। केही समय घरमै आराम गरेर पूर्ण स्वास्थ्यलाभ गरेपछि पुनः संगीत क्षेत्रमा सक्रिय हुने उनको योजना छ। ‘रोकिएका गीत रेकर्डिङका काम धेरै छन्। केही नयाँ प्रोजेक्ट पनि सोचेको थिएँ। अब केही समय आराम गरेर त्यतातिर लाग्नेछु,’ बरालले भने ।
गायक बरालको उपचार प्राध्यापक डा. अञ्जनकुमार श्रेष्ठ र प्राध्यापक डा. दिनेश काफ्लेको टिमले गरेको थियो। उनले आफ्नो उपचारमा खटिएका चिकित्सक, नर्सिङ टिम तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। उपचारका क्रममा निरन्तर साथ, सल्लाह र हौसला दिने डा. श्यामेन्द्रबहादुर सिंह तथा अहोरात्र सेवामा खटिएकी श्रीमती गीताञ्जली शर्मा र सम्पूर्ण परिवारजनलाई पनि उनले धन्यवाद दिएका छन्।
बरालले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा करिब दुई महिनाको अस्पताल बसाइँ र उपचारपछि डिस्चार्ज भएको उल्लेख गर्दै उपचार यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग, शुभेच्छा, प्रार्थना र हौसला दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
नेपाली सुगम संगीत तथा पार्श्व गायनका चर्चित गायक बराल सन् २०५० सालमा ‘बादलुको घुम्टो’ गीतमार्फत स्थापित भएका हुन्। ‘निष्ठुरी छाडेर गइहाली’, ‘अब चोटहरूले’, ‘दोधारे मायालु’, ‘मन रहे पो मायाप्रीति’ र ‘दिलमाया’ लगायत उनका गीत लोकप्रिय छन्। पछिल्लो समय ‘सनम माया लाको’ लगायत गीतमार्फत उनी नयाँ पुस्तामाझ पनि परिचित छन्।










प्रतिक्रिया