सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । पछिल्लो एक दशकदेखि फिल्मको असफलतासँग जुधिरहेका अभिनेता इमरान हाश्मीका लागि सन् २०२६ सुखद बन्ने संकेत देखिएको छ । शुक्रबार (२९ साउन) देखि प्रदर्शनमा आएको उनी अभिनीत फिल्म ‘आवारापन २’ले बक्सअफिसमा सानदार सुरुवात गरेको छ । यो फिल्म इमरानको दुई दशक लामो अभिनय करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।

भारतीय ट्रेड एनालिस्टका अनुसार ‘आवारापन २’ले पहिलो दिन २३ करोड ४० लाख भारु ग्रस कलेक्सन गरेको छ । योसँगै फिल्म सन् २०२६ मा ‘धुरन्धर २’ र ‘बोर्डर २’पछि सर्वाधिक ठूलो ओपनिङ गर्ने फिल्म बनेको तरणले उल्लेख गरेका छन् । फिल्मले सन् २००७ मा प्रदर्शनमा आएको ‘आवारापन’को लाइफटाइम कलेक्सनलाई समेत पहिलो दिनमै उछिनेको छ ।

यसअघि इमरान हाश्मीको मुख्य भूमिका रहेका दुई फिल्मले मात्र पहिलो दिन दोहोरो अंकमा कमाइ गरेका थिए । सन् २०१२ मा प्रदर्शनमा आएको ‘राज २’ले पहिलो दिन १० करोड ३५ लाख भारु तथा सन् २०१७ को ‘बादशाहो’ले १२ करोड ६० लाख भारु ओपनिङ गरेका थिए । ‘आवारापन २’ले भने यी दुवैको रेकर्ड तोड्दै इमरानको करिअरकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको हो ।

नितिन कक्कडको निर्देशन तथा विशेष भट्टको निर्माणमा बनेको फिल्ममा इमरानले ‘शिवम पण्डित’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा शबाना आजमी, दिशा पटानी, विजयन्त कोली र सुविन्दर विक्कीको पनि अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com