सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, संघर्ष, त्याग, साहस र निष्ठामा आधारित नाटक मञ्चन हुन लागेको हो ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन रहेको नाटकमा गणेशमान सिंहको राजनीतिक जीवनका महत्वपूर्ण घटनालाई रङ्गमञ्चमा प्रस्तुत गरिनेछ। निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा मात्र आधारित नाटक नभई निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो। करिब पाँच दशक लामो आफ्नो नाट्य यात्रामा यस प्रकारको यथार्थपरक नाटक पहिलोपटक निर्देशन गर्न लागेको उनले बताए।
आफ्नो नियमित नाट्य अभ्यासभन्दा फरक शैलीमा तयार गरिएको नाटकमार्फत निष्ठावान्, इमानदार र सच्चरित्र योद्धाका रूपमा गणेशमान सिंहको व्यक्तित्वलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरिएको मल्लको भनाइ छ।
नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको संघर्ष, भद्रगोल जेलको जीवन तथा ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिनेछ। प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डसमेत बेवास्ता गर्दै निरन्तर संघर्ष गरेका सिंहको त्याग, साहस र अडिग निष्ठालाई नाटकमा जीवन्त बनाउने प्रयास गरिएको छ।
त्यस्तै, २०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री पदसमेत अस्वीकार गरेको ऐतिहासिक घटनालाई नाटकको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिनेछ। व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश र जनताको अधिकार तथा स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई नाटकले उजागर गर्ने निर्माण पक्षले जनाएको छ।
नाटकको प्रस्तुतकर्ता सर्वनाम नेपालकै अग्रणी तथा प्रतिष्ठित रङ्गमञ्च समूहका रूपमा विगत ४५ वर्षदेखि नेपाली नाट्य क्षेत्रमा सक्रिय रहँदै आएको संस्था हो। वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनामले नेपाली रङ्गमञ्चको विकास, प्रवर्द्धन तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध नाट्य कलामार्फत आवाज उठाउँदै आएको सर्वनामले सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धिमा समेत भूमिका निर्वाह गरेको छ। नेपालमा संस्थागत रूपमा ‘सडक नाटक’को सुरुवात गर्ने श्रेय पनि सर्वनामलाई दिइन्छ।
सरकारी वा बाह्य निकायको अनुदानमा निर्भर नभई आफ्नै श्रम, पसिना र समर्पणबाट आफ्नै नाट्यगृह निर्माण गरेको सर्वनाम नेपाली रङ्गमञ्चमा आत्मनिर्भरता र संस्थागत निरन्तरताको उदाहरणका रूपमा स्थापित छ।
सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रङ्गकर्मीलाई प्रोत्साहन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
‘वीर गणेशमान’मार्फत नेपाली इतिहासको महत्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरिएको सर्वनामले जनाएको छ।










प्रतिक्रिया