सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मनोरञ्जनसँगै सामाजिक सन्देश दिन सक्ने फिल्मको प्रभाव दर्शकमाझ अझ गहिरो हुने गर्छ । यही पक्षलाई केन्द्रमा राखेर तयार गरिएको फिल्म ‘गौँथली’ ले शिक्षा, छोरीको सपना र अटिजम भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोणलाई कथाको मुख्य आधार बनाएको छ।
गत साउन १ गतेदेखि प्रदर्शनरत फिल्म ‘गौँथली’ डा. भोला रिजालले करिब २५ वर्षअघि निर्माण गरेको गीतिकथानकमा आधारित छ । पुरानो कथाको मर्मलाई समयसापेक्ष रूपमा प्रस्तुत गर्दै उनका छोरा डा. कपिल रिजालले फिल्म निर्देशन गरेका हुन् ।
फिल्मको विषयवस्तु, प्रस्तुतीकरण, निर्देशन र कलाकारको अभिनयलाई सार्वजनिक प्रदर्शनअघि फिल्म हेर्नेहरूले प्रशंसा गरेका छन्। बेलायतमा दन्त चिकित्सकका रूपमा स्थापित डा. कपिल पछिल्ला केही वर्षयता फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छन् ।
निर्देशक रिजालका अघिल्ला फिल्ममा पनि स्वास्थ्यसँग सम्बन्धित विषयले स्थान पाएका छन् । ‘ह्यारीकी प्यारी’मा वीर्यदानको विषय उठाएका उनले ‘गौँथली’मा अटिजम भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षासँग जोडिएको विषयलाई प्रस्तुत गरेका छन् ।
‘मैले स्वास्थ्य सेवामा लामो समय बिताएको छु। मेरो परिवार नै यही पेसामा हुनुहुन्छ। त्यसैले मैले सिर्जना गर्ने कथा स्वास्थ्य समस्यासँग जोडिन सक्छ। यसले दर्शकलाई सचेतना पनि दिन्छ’, निर्देशक रिजालले भने। उनका अनुसार ‘गौँथली’ले स्वास्थ्यसँगै शिक्षाको महत्वलाई पनि उजागर गरेको छ।
‘अहिले पनि ग्रामीण भेगमा ‘गौँथली’ पात्रजस्तै समस्या भोग्नेहरू हुनुहुन्छ। त्यसैले यो फिल्मले थोरै भए पनि छोरी पढाउनुपर्छ भन्ने सन्देश दिन सक्यो भने मेरो ठूलो सफलता हुनेछ’, उनले भने।
फिल्ममा सिम्रन खड्काले शीर्ष भूमिका निर्वाह गरेकी छन् । एसएलसी उत्तीर्ण गरेर आफ्नो भविष्य बनाउने सपना बोकेकी गौँथलीको विवाह अध्ययन पूरा गर्नुअघि नै हुन्छ। परिवारले खानदानी र सम्पत्ति भएको घरका युवकसँग उनको विवाह गरिदिन्छ। तर विवाहपछि गौँथलीले थाहा पाउँछिन् कि उनका श्रीमान् ठूले अर्थात् अरुण क्षेत्रीले ‘माइल्ड अटिजम’को सामना गरिरहेका छन् ।
विवाहपछि अध्ययनलाई निरन्तरता दिने गौँथलीको चाहना पूरा हुन सक्दैन । सासुससुरासँग आफ्नो अध्ययनको इच्छा व्यक्त गरे पनि उनलाई सहयोग मिल्दैन। त्यसपछि आफ्नो अधुरो सपना पूरा गर्न उनले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा हो । अभिनेत्री खड्काका अनुसार फिल्मले एउटी छोरीले आफ्नो सपना पूरा गर्न गर्ने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।
‘एउटा छोरीले आफ्नो सपना पूरा गर्न के-कस्ता संघर्ष गर्नुपर्छ भन्ने कुरा फिल्ममा राम्रोसँग देखाइएको छ । आफ्नो बाबुआमाको घर छोडेर गएकी युवतीले श्रीमान् र उनको परिवारबाट कस्तो सहयोग चाहन्छिन् भन्ने पनि देखाइएको छ’, उनले भनिन्, ‘फिल्मले हँसाउँदै रुवाउँछ। यसले हल पुग्ने दर्शकलाई निराश बनाउँदैन।’
अरुण क्षेत्रीका लागि भने ‘गौँथली’मा अटिजम भएका युवकको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण थियो । पात्रलाई विश्वसनीय बनाउन उनले अटिजम भएका व्यक्तिहरूसँग समय बिताएर उनीहरूको व्यवहार र फरक क्षमतालाई बुझ्ने प्रयास गरेका थिए ।
‘अटिजमबारे मेरो बुझाइ फरक रहेछ। मैले विस्तारै बुझ्न थालेँ। फरक क्षमता भएका व्यक्तिसँग समय बिताएँ र उहाँहरूको मानसिकता तथा फरक क्षमतालाई बुझ्ने कोसिस गरेँ’, उनले भने।
पात्रलाई आत्मसात् गर्ने क्रममा अरुणले छायांकनको सुरुआती तीन दिन संवाद नबोली केवल हाउभाउमा केन्द्रित भएर दृश्य दिएका थिए । हाउभाउ र पात्रको शैलीमा सहज भएपछि मात्र उनले संवाद बोल्न थालेका थिए । सुरुआतमा कठिन भए पनि पछि आफूले उक्त पात्रलाई निकै ‘इन्जोय’ गरेको उनले बताए। डा. भोला रिजालको कथामा आधारित फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्।
फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्रीसँगै प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको ‘गौँथली’ले मनोरञ्जनसँगै छोरीको शिक्षा, पारिवारिक निर्णय, व्यक्तिगत सपना र अटिजमप्रतिको सामाजिक बुझाइलाई बहसमा ल्याउने प्रयास गरेको छ । नेपालभर प्रदर्शनरत फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेको छ ।










प्रतिक्रिया