सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन समर्पण गरेका क्रान्तियोद्धा लौहपुरुष गणेशमान सिंहको जीवन र सङ्घर्षमा आधारित नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकमा नेता सिंहको बाल्यकाल, राजनीतिक यात्रा, प्रजा परिषद्सँगको आबद्धता र नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ।

वरिष्ठ नाट्यकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण तथा निर्देशनमा तयार भएको नाटकमा गणेशमान सिंहको राजनीतिक जीवनसँगै पारिवारिक जीवनलाई पनि समेटिएको छ।

सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका सिंहको जीवनमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहस र योगदानलाई प्रस्तुत गर्छ। जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसङ्गलाई पनि नाटकमा समेटिएको छ।

करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्ययात्रामै पहिलोपटक बिम्ब र प्रतीकको शैलीभन्दा फरक रहेर यथार्थपरक प्रस्तुति दिएको बताएका छन्। नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बराल छन्। उनले नेता सिंहको जीवनशैली र व्यक्तित्वलाई मञ्चमा जीवन्त रूपमा उतारेका छन्।

‘नाटक हेर्न आउने दर्शकले दिनुभएको प्रतिक्रियाले उत्साह थपेको छ। मैले उहाँ (नेता सिंह) लाई देख्न त पाइनँ, तर उहाँका बारेमा लेखिएका लेख र निर्देशकले तयार पार्नुभएको पटकथाले उहाँको छवि प्रस्तुत गर्न सघाएको छ। मैले आफ्नो क्षमताले भ्याएसम्म न्याय गर्ने कोसिस गरेको छु,’ अभिनेता बरालले भने।

नाटक हेर्न पुगेका दर्शकले बरालको अनुहारमा गणेशमान सिंहकै आकृति झल्किएको प्रतिक्रिया दिएका छन् । गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले नाटक हेरेपछि मुख्य अभिनेता बरालसहित सम्पूर्ण कलाकारको अभिनयको प्रशंसा गरे। कलाकार तथा गायक यमन श्रेष्ठले गणेशमान सिंहको जीवनीलाई दुई घण्टाको समयमा समेटेर जीवन्त बनाउनु चुनौतीपूर्ण काम भएको भन्दै नाटकको प्रशंसा गरे।

नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय रहेको छ।

१९७२ कात्तिक २४ गते काठमाडौंको रैथाने परिवारमा जन्मिएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको थियो। उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। नाटक आगामी मंसिर १९ गतेसम्म मञ्चन हुनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com