सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’को पहिलो साता सुखद रहन सकेन । सार्वजनिक पहिलो गीतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणीबीच प्रदर्शनमा आएको फिल्मलाई दर्शकले अपेक्षित रूपमा हेर्न रुचि नदेखाएको पाइएको छ । गीतलाई लिएर भएको विवादको प्रभाव फिल्मको व्यापारमा समेत देखिएको छ।

अभिनेत्री प्रियंका कार्कीको पहिलो निर्माणमा तयार भएको फिल्म ‘मास्टर्नी’ घरेलु बजारको बक्स अफिसमा कमजोर देखिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’को तथ्यांकअनुसार फिल्मले आइतबार राति ११ः५९ बजेसम्म ३९ लाख ५२ हजार ८ सय ५९ रुपैयाँ कमाइ गरेको छ। उक्त अवधिसम्म फिल्मका ११ हजार ९ सय ९६ वटा टिकट बिक्री भएका छन्।

अभिनेत्रीका रूपमा लामो समय काम गरेपछि फिल्म निर्माणमा होमिएकी प्रियंका कार्कीका लागि पहिलो निर्माण प्रयास घरेलु बक्स अफिसमा सफल हुन सकेन। फिल्मको कमजोर व्यापारले उनको निर्माण यात्रा अपेक्षित रूपमा सुखद हुन नसकेको देखाएको छ।

अभिनेत्री प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ।

शुभेन्दु घोषले निर्देशन गरेको फिल्मको पटकथा शान बस्न्यातले लेखेका हुन्। फिल्मको संवाद लेखनमा अभिनेत्री प्रियंका कार्की र शान बस्न्यातले सहकार्य गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com