सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता दयाहाङ राईले कलात्मकसँगै व्यवसायिक फिल्ममा काम गरिरहेका छन् । दुवै दर्शक माँझ फिट देखिएका अभिनेता राईले ‘कबड्डी’ जस्ता व्यावसायिक फिल्मसँगै ‘गाउँ आएको बाटो’, ‘सेतो सूर्य’ र ‘राजागञ्ज’ जस्ता कलात्मक फिल्ममा पनि अभिनय गरेका छन् । यीमध्ये केही फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाउनुका साथै पुरस्कारसमेत जितेका छन्।
त्यस्तै, उनी अभिनित ‘जारी’मा लिम्बू समुदायको कथा, ‘दयारानी’मा गुरुङ समुदायको कथा र प्रदर्शनको तयारीमा रहेको ‘घर ज्वाईं’मा मगर समुदायको कथालाई प्रस्तुत गरिएको छ । समुदाय र ग्रामीण भेगका कथालाई पर्दामा ल्याउन अन्य अभिनेता भन्दा उनी अगाडि छन् ।
‘मैले कलात्मक फिल्ममार्फत नेपाली विषयलाई विश्वभर पुर्याउन सक्छु। त्यसैले त्यस्ता फिल्ममा काम गर्ने मेरो इच्छा हुन्छ। त्यस्ता निर्माता र निर्देशकलाई प्रोत्साहन गर्नु हामी कलाकारको दायित्व पनि हो। किनकि ती फिल्मले नयाँ बजार निर्माणमा भूमिका खेल्छन्’, उनले एक अन्तर्वार्तामा भने ।
दयाहाङ पछिल्लो समय नेपाली फिल्मका व्यस्त अभिनेतामध्ये एक हुन् । विविध चरित्र र फरक विषयका फिल्ममा निरन्तर काम गर्दै आएका उनको निर्देशन यात्रालाई पनि दर्शक तथा फिल्म क्षेत्रमा चासोका साथ हेरिएको छ ।
रङ्गमञ्चमा निर्देशनको अनुभव भए पनि राईले अहिलेसम्म फिल्म निर्देशन गरेका छैनन् । ‘डिग्री माइला’ फिल्म बन्ने चर्चा चलेपछि धेरैले उनैले निर्देशन गर्ने अनुमान गरेका थि ए। तर, उक्त फिल्म उनले निर्देशन गरेनन् । यद्यपि, भविष्यमा भने फिल्म निर्देशन गर्ने योजना रहेको राईले बताएका छन् ।
‘यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय व्यवस्थापन गर्न पनि सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नैपर्ने कथा भेटेँ भने दुई फिल्म निर्देशन गर्छु’, उनले भने ।
निर्देशनमा आएपछि रङ्गमञ्च र फिल्ममा काम गर्दाको अनुभवलाई प्रयोग गर्ने उनको सोच छ । राईले अभिनय गरेका फिल्मको विविधताका कारण उनले निर्देशन गर्दा व्यावसायिक वा कलात्मक कुन धारलाई प्राथमिकता देलान् भन्ने कौतुहलता पनि स्वाभाविक छ । तर, आफूले रोज्ने विषयले नै फिल्मको प्रकृति निर्धारण गर्ने उनको भनाइ छ।
‘मैले चयन गर्ने विषयले नै मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभावकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छु। मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु’, राईले भने ।









प्रतिक्रिया