सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दक्षिण भारतीय स्टार यश अभिनीत फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन अप्स’को बक्सअफिस व्यापारमा पहिलो सोमबार ठूलो गिरावट आएको छ । सुरुवाती दिनमा आक्रामक व्यापार गरेको फिल्मले सोमबार भारतमा ७ करोड ४५ लाख भारु नेट कमाएको छ ।

व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार सोमबार फिल्मका १३ हजार ४ सय शो सञ्चालन भएका थिए भने औसत अकुपेन्सी १७.१ प्रतिशत थियो । पहिलो दिनको तुलनामा सोमबारको कमाइ ६७.६ प्रतिशतले घटेको हो । यो फिल्मको हालसम्मकै सबैभन्दा कम एकदिने कमाइसमेत हो ।

‘टक्सिक’ले प्रदर्शनको पहिलो दिन भारतमा १०१ करोड भारु नेट कमाउँदै कन्नड फिल्मको दोस्रो ठूलो ओपनिङ गरेको थियो। तर, त्यसपछि भने फिल्मको दैनिक व्यापार निरन्तर ओरालो लागेको छ। फिल्मले दोस्रो दिन ३७ करोड ६५ लाख, शनिबार २५ करोड १५ लाख र आइतबार २३ करोड भारु नेट कमाएको थियो। सोमबारको कमाइ जोडिएसँगै फिल्मको भारतमा कुल नेट कलेक्सन २२१ करोड ५५ लाख भारु पुगेको छ।

यशकै अघिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ च्याप्टर २’सँग तुलना गर्दा ‘टक्सिक’ निकै पछाडि देखिन्छ । ‘केजीएफ च्याप्टर २’ले प्रदर्शनको पहिलो पाँच दिनमै भारतमा ४३० करोड १५ लाख भारु नेट कमाएको थियो ।

गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेसी, रुक्मिणी वसन्त र तारा सुतारियालगायत कलाकारको अभिनय छ। प्रदर्शनअघि नै ठूलो चर्चा पाएको फिल्मले रिलिजपछि भने कथा, पटकथा तथा हिंसात्मक दृश्यलाई लिएर दर्शकबाट मिश्रितदेखि नकारात्मक प्रतिक्रिया पाइरहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com