सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय अभिनेता सोनु सुद भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहायता पुर्याउन बुधबार नुवाकोट पुगेका छन् । उनीसँगै मुम्बईबाट आएको सहायता टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ ।
नुवाकोट पुग्नुअघि सोनु सुदले काठमाडौंको एक गुम्बामा आश्रय लिइरहेका बाढीपीडितलाई भेटेका थिए । उनले त्यहाँ आश्रय लिइरहेका बालबालिकासँग भेट गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार काठमाडौं आइपुग्नेबित्तिकै नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै सुदले बाढीका कारण घरबारविहीन बनेका नागरिकका लागि आवास निर्माण गर्ने अभियान अघि बढाउने प्रस्ताव गरेका थिए । उनले ‘एक घर बनाउने संकल्प’ अभियानमार्फत प्रभावित परिवारलाई पुनः घर बनाउन सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् ।
‘नेपाल अहिले निकै कठिन समयबाट गुज्रिरहेको छ । यो बेला अगाडि आएर सक्दो सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो,’ सुदले भनेका छन्, ‘टाढाबाट सहयोग पठाउनुभन्दा आफैँ उपस्थित भएर पीडितको हात समात्दै हामी तपाईंको साथमा छौँ भन्ने ढाडस दिनुको प्रभाव धेरै ठूलो हुन्छ । म केवल मद्दत गर्न मात्र होइन, आफ्नो जिम्मेवारी पूरा गर्न यहाँ आएको हुँ ।’
सुदले राहत सामग्री वितरणसँगै बाढीपीडितको पुनःस्थापनामा समेत सहयोग गर्ने संकेत गरेका छन् । उनको नेतृत्वमा मुम्बईबाट आएको टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक सहयोग गर्ने बताइएको छ ।









प्रतिक्रिया