सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि जुटेका छन् । कलाकारहरूको टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । यसअघि त्रिशूली-११, गेर्खु तथा विदुर-२ लगायतका क्षेत्रमा ३० भन्दा बढी बाढी प्रभावित परिवारलाई लत्ताकपडा, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको ‘बल्छी धुर्बे’ले जानकारी दिए ।
उनका अनुसार टोलीले करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरेको हो । राहत वितरणको दोस्रो चरणका लागि टोली अहिले बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा ‘बल्छी धुर्बे’सँगै ‘बान्द्रे’, ‘पुकु’ र ‘साहुनी’ पात्रको भूमिकामा देखिने कलाकारहरू सहभागी छन् । राहत वितरणमा स्थानीय खगेन्द्र पोखरेलले समन्वय गरिरहेका छन् ।
प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेट्दा उनीहरूले सरकारी राहत समयमै प्राप्त गर्न नसकेको गुनासो गरेको ‘बल्छी धुर्बे’ले बताए । ‘धेरै जनाले मलाई प्रत्यक्ष रूपमा भन्नुभयो र म्यासेज पनि गर्नुभएको छ । सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा मात्रै राखेर हुँदैन, तत्काल प्रभावित परिवारसम्म पुर्याउनुपर्छ,’ उनले भने ।
सरकारले राहत वितरणमा अपनाउँदै आएको एकद्वार प्रणालीलाई पुनर्विचार गरी बहुद्वार प्रणालीमार्फत पनि राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका परिवारलाई प्रत्यक्ष भेटेर राहत उपलब्ध गराउने उद्देश्यले कलाकारहरूको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।









प्रतिक्रिया