सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘गौँथली’का निर्माण पक्षले बाढीपीडितका लागि सहयोग गरेका छन्। बिहीबार फिल्मका निर्माता सुमन गिरी र निर्माता तथा निर्देशक डा. कपिल रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम हस्तान्तरणपछि निर्माता गिरीले विपद्को कठिन समयमा पीडित नागरिकसँगै उभिनु सबैको दायित्व भएकाले फिल्मको तर्फबाट सहयोग गरिएको बताए।
उनले यो सहयोग रकम विपत्तिमा परेका नागरिकप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको सानो प्रयास भएको बताएका छन् । ‘यो रकम केवल सहयोग होइन, विपत्तिमा परेका हाम्रा आफ्नै दाजुभाइ तथा दिदीबहिनीप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको सानो प्रयास हो’, उनले लेखेका छन्, ‘हामीले दिएको यो सानो सहयोगले कसैको पीडामा थोरै भए पनि राहत मिलोस्, कसैको आँसु पुछ्न सघाओस् र संकटको यस घडीमा तपाईंहरू एक्लै हुनुहुन्न, हामी तपाईंहरूसँगै छौँ भन्ने अनुभूति दिलाउन सकोस् भन्ने हाम्रो चाहना हो।’
गत साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ अहिले नेपालमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ । बक्सअफिसको तथ्यांकअनुसार फिल्मले घरेलुबजारमा गतेसम्म २५ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइसकेको छ । यसलाई नेपालमै ९ लाख ३५ हजारले हेरिसकेका छन् । फिल्मले यही शनिबार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ। नेपालमा राम्रो व्यापार गरेको ‘गौँथली’ले अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका डायस्पोरामा समेत उत्साहजनक प्रदर्शन गरिरहेको निर्माण पक्षले जनाएको छ ।
‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।









प्रतिक्रिया