सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण प्रभावित धेरै परिवारको गाँस, बास र कपास खोसिएको अवस्थामा फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित प्रभावित क्षेत्र पुगेकी छन् ।

बाढीपीडितको सहयोगका लागि प्रियनाले व्यक्तिगत पहलमा पाँच गाडी राहत सामग्री रसुवा र नुवाकोट पठाएकी हुन् । पीडितका लागि आवश्यक खाद्यान्नलगायत सामग्री जुटाएर पठाइएको उनले जानकारी दिइन् । अभिनेत्री आचार्यले अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि विपद्मा परेका मानिसलाई राहत आवश्यक रहेकाले आफू त्यसै अभियानमा सक्रिय भएको बताइन् ।

भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको कथामा आधारित फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन्। फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय छ।

डम्बर राईको कथामा बनेको फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् । शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका छन् । डम्बर राई र नारायण गुरुङको छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन तथा सन्दीप डाङ्गीले सह-सम्पादन गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com