सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री मनीषा कोइराला हलिउडको नयाँ इन्डी फिल्म ‘काउगर्ल्स एन्ड इन्डियन्स’ मा मुख्य भूमिकामा देखिने भएकी छन् । फिल्मको छायांकन आगामी नोभेम्बरदेखि अमेरिकाको टेक्सास राज्यको अस्टिन तथा आसपासका क्षेत्रमा सुरु हुने भेराइटी म्ग्याजिनले उल्लेख गरेको छ ।

यसअघि ‘काउब्वाइज एन्ड इन्डियन्स’ नाममा रहेको फिल्मको लेखन तथा निर्देशन तेजल देसाईले गर्नेछिन् । निर्देशक देसाईले आफ्नो छोटो फिल्म ‘काउब्वाइज एन्ड हिन्दुज’लाई विस्तार गर्दै यो फिल्म बनाउन लागेकी हुन्।

फिल्मले टेक्सासको परिवेशमा पहिचानको खोजी गरिरहेकी एक मध्यम उमेरकी भारतीय महिलाको कथा प्रस्तुत गर्नेछ । दक्षिण एसियाली विरासत र अमेरिकी परिवेशबीचको सांस्कृतिक विस्थापन, मित्रता र संघर्ष फिल्मको कथाको केन्द्रमा रहनेछ ।

मनिषाले आफूलाई प्रस्तुत गरिएको कथाले सीमाना पार गर्ने सम्भावना बोकेको बताएकी छन् । उनका अनुसार निश्चित उमेर समूहका महिलाका लागि पर्याप्त भूमिका लेखिने क्रम अझै कम भए पनि अवस्था बिस्तारै परिवर्तन भइरहेको छ ।

निर्देशक तेजल देसाईका अनुसार फिल्म मध्यम उमेरकी भारतीय महिलाले अमेरिकी दक्षिणपश्चिमी क्षेत्रमा आफ्नो पहिचान पत्ता लगाउने ‘कमिङ अफ एज’ कथा हो । अभिनेत्री कोइरालाको अभिनयमा रहेको यथार्थपरकता, संवेदनशीलता र दृढता फिल्मको मुख्य पात्रका लागि उपयुक्त रहेको उनले बताएकी छन्। फिल्मको निर्माण किर्तना बाँस्कोटाले गर्नेछिन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com