सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लन्डनको लेस्टर स्क्वायरमा सन् १९९६ मा हलिउड अभिनेता टम क्रूजलाई भेटेको क्षण नेपाली फोटो पत्रकार बिकास रौनियारका लागि आज पनि अविस्मरणीय छ । त्यतिबेला क्रूजको चर्चित फिल्म ‘मिसन इम्पोसिबल’ को प्रिमियरका क्रममा रौनियारले उनको तस्बिर खिच्ने अवसर पाएका थिए ।

जुलाई १९९६ को एक दिउँसो रौनियार साथी नवीन श्रेष्ठसँग लेस्टर स्क्वायरमा घुमिरहेका थिए । त्यही क्रममा उनीहरूले सिनेमा हलनजिकै ठूलो भीड देखे । भीडको कारणबारे सोध्दा ‘मिसन इम्पोसिबल’को प्रिमियरका लागि हलिउड स्टार टम क्रूज आउने जानकारी पाए ।

क्रूजलाई नजिकबाट हेर्ने र तस्बिर खिच्ने अवसर गुमाउन नचाहेपछि रौनियार र श्रेष्ठले आफ्ना अन्य प्रतिबद्धता स्थगित गरे। उनीहरू क्रूज आउने प्रतीक्षामा त्यहीँ बसे । भाग्यवश, सिनेमा हलबाट एक व्यक्तिले रौनियारलाई अन्य फोटो पत्रकारहरू बसेको स्थानमा जान अनुमति दिए । क्यामेरा बोकेर उनी क्रूजको प्रतीक्षामा तयार भएर बसे।

करिब १५ मिनेटपछि भीडमा उत्साह बढ्यो । मानिसहरू चिच्याउन थालेपछि क्रूज आइपुगेको रौनियारले थाहा पाए । उनले तत्काल क्यामेरा चलाउँदै क्रूजका तस्बिर खिच्न थाले । क्रूज कारबाट बाहिरिएर सिनेमा हलभित्र प्रवेश गर्दासम्म रौनियारले उनका केही तस्बिर खिच्न सफल भए । उनका लागि त्यो संयोग मात्र थिएन, सही समय र सही ठाउँमा उपस्थित भएको परिणाम थियो । उनी सम्झन्छन्, ‘म सही समयमा सही ठाउँमा थिएँ। त्यसैले मैले उनको तस्बिर पाएँ ।’

वर्षौंअघि लन्डनमा खिचिएको त्यो तस्बिर बिकासको फोटो पत्रकारिताको यात्रामा एउटा विशेष सम्झना बनेर बसेको छ, जहाँ हजारौँ दर्शकको भीडबीच उनले हलिउडका सुपरस्टार टम क्रूजलाई आफ्नै क्यामेरामा कैद गरेका थिए ।

टम क्रूज हलिउडका चर्चित अभिनेता तथा निर्माता हुन् । ‘मिसन इम्पोसिबल’ सिरिजका इथन हन्ट पात्रका कारण उनी विश्वभर परिचित छन् । विशेषगरी एक्सन फिल्ममा आफ्नै स्टन्ट गर्ने शैलीका कारण क्रूजको छुट्टै पहिचान बनेको छ ।

सन् १९९६ मा पहिलो ‘मिसन इम्पोसिबल’ रिलिज हुँदा क्रूजले इथन हन्टको भूमिका निर्वाह गरेका थिए । त्यसपछि यो सिरिज हलिउडको चर्चित एक्सन फ्रेन्चाइजमध्ये एकका रूपमा स्थापित भयो । फोटो पत्रकार रौनियारका लागि भने त्यो प्रिमियर केवल एउटा फिल्मको कार्यक्रम थिएन, हलिउडका सुपरस्टार टम क्रूजलाई आफ्नै क्यामेरामा कैद गर्ने दुर्लभ अवसर थियो । वर्षौं बितिसक्दा पनि लन्डनको त्यो दिन र क्रूजको तस्बिर खिचेको क्षण उनको स्मृतिमा उत्तिकै ताजा छ ।

( लेखक बिकास रौनियार वरिष्ठ फोटो पत्रकार हुन् । यो तस्बिर उनले सन् १९९६ मा बेलायत भ्रमणका क्रममा खिचेका थिए । )

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com