सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा ‘लिच्छवि सिनेमा फेस्टिभल’को पहिलो संस्करण आयोजना हुने भएको छ। लिच्छवि हाउसले आयोजना गर्ने महोत्सवमा नेपालसहित एसिया तथा विश्वका उत्कृष्ट कथानक फिल्म प्रदर्शन गरिनेछ ।
महोत्सवमा नेपाल, भुटान, भारत, पाकिस्तान, थाइल्याण्ड, फ्रान्स, जर्मनी, जापान र रसियाका फिल्मलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ। समकालीन एसियाली फिल्मसँगै विश्व सिनेमाका कालजयी कृतिलाई समेत कार्यक्रममा समेटिएको छ ।
महोत्सवको लाइनअपमा आन्द्रेई तार्कोभ्स्कीको ‘स्टकर’, पायल कपाडियाको ‘अल वी इम्याजिन एज लाइट’, विम वेन्डर्सको ‘पर्फेक्ट डेज’, अपिचातपोङ विरासेथाकुलको ‘मेमोरिया’ तथा म्याथ्यु कासोभित्जको ‘ला एन’ जस्ता चर्चित फिल्म छन्।
त्यस्तै, नेपाली तथा दक्षिण एसियाली फिल्मलाई पनि महोत्सवमा विशेष स्थान दिइएको छ। अविनाश विक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’, दीपक रौनियारको ‘ह्वाइट सन’, भुटानी निर्देशक खिन्त्से नोर्बुको ‘द कप’ र तासी ग्याल्छेनको ‘द रेड फ्यालस’ प्रदर्शन हुनेछन्।
महोत्सवमा समावेश ‘एलिफेन्ट्स इन द फग’ ले सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ प्राप्त गरेको थियो । आयोजकका अनुसार कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिल्मका रूपमा यसलाई महोत्सवको महत्वपूर्ण प्रस्तुतिमध्ये एकका रूपमा समेटिएको हो ।
महोत्सव निर्देशक खिन्त्से नोर्बुका रूपमा समेत परिचित जोङसार खिन्त्से रिन्पोछेले स्थापना गरेको कला तथा सांस्कृतिक केन्द्र ‘लिच्छवि हाउस’ले फेस्टिभल प्रस्तुत गर्न लागेको हो । नेपालसँग आफ्नो लामो आत्मिक तथा सांस्कृतिक सम्बन्ध र यहाँको समृद्ध आध्यात्मिक विरासतसँग जोडिएको सिनेमाप्रतिको प्रतिबद्धताबाट महोत्सवको अवधारणा अघि बढेको आयोजकले जनाएको छ।
महोत्सवले ‘गरुड’लाई आफ्नो प्रतीक चिह्न बनाएको छ । नेपाल तथा बौद्ध र हिन्दु परम्परामा गरुडलाई संरक्षक र सन्देशवाहकका रूपमा लिइने भएकाले भूगोल, भाषा र संस्कृतिका सीमाभन्दा माथि उठेर सिनेमाले गर्ने संवादको प्रतीकका रूपमा गरुडलाई चयन गरिएको आयोजकको भनाइ छ।
महोत्सवको मुख्य उद्देश्य नेपालका हलमा सीमित प्रदर्शन भएका वा प्रदर्शन नै हुन नपाएका महत्वपूर्ण अन्तर्राष्ट्रिय फिल्मलाई काठमाडौंका दर्शकमाझ पुर्याउनु रहेको छ। आयोजकका अनुसार लाइनअपमा रहेका केही फिल्म नेपालमा पहिलोपटक प्रदर्शन हुँदैछन्।
महोत्सव चलचित्र निर्देशक तथा समीक्षक अभिषेक बुढाथोकीका अनुसार नेपाली फिल्मलाई विश्व सिनेमासँग संवादमा उभ्याउँदै नेपालमा स्वस्थ र दीर्घकालीन फिल्म संस्कृति निर्माण गर्ने उद्देश्य महोत्सवको रहेको छ ।
‘हामीले यो पहिलो संस्करणमार्फत हाम्रो आफ्नै सिनेमालाई विश्वसामु संवादमा उभ्याउने प्रयास गरेका छौँ,जहाँ नेपाली निर्देशकहरू तार्कोभ्स्की, अपिचातपोङ, पायल कपाडिया र विम वेन्डर्ससँगै एउटै मञ्चमा छन्,’ बुढाथोकीले भने।
महोत्सवमा कुनै प्रतिस्पर्धा वा जुरी रहने छैन । यो पूर्ण रूपमा क्युरेटेड फिल्म कार्यक्रमका रूपमा आयोजना हुनेछ र फिल्महरू पूर्ण डीसीपी थिएटर प्रोजेक्सनमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।
पहिलो संस्करणलाई नेपालमा दीर्घकालीन फिल्मसम्बन्धी पहलको आधारशिलाका रूपमा अघि बढाउने योजना आयोजकको छ। आगामी दिनमा कार्यक्रम विस्तार, अन्तर्राष्ट्रिय सहकार्य, फिल्मकर्मीका लागि रेसिडेन्सी तथा वर्षभरि फिल्म साक्षरता, फिल्म सम्पदा संरक्षण र सांस्कृतिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । महोत्सव काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा आयोजना हुन लागेको हो।
महोत्सवमा प्रदर्शन हुने फिल्म
१. द कप – खिन्त्से नोर्बु (भुटान, १९९९)
२. एलिफेन्ट्स इन द फग – अविनाश विक्रम शाह (नेपाल, २०२६)
३. ह्वाइट सन – दीपक रौनियार (नेपाल, २०१६)
४. द रेड फ्यालस – तासी ग्याल्छेन (भुटान, २०१८)
५. अल वी इम्याजिन एज लाइट – पायल कपाडिया (भारत, २०२४)
६. घोस्ट स्कुल – सीमाब गुल (पाकिस्तान, २०२५)
७. स्टकर – आन्द्रेई तार्कोभ्स्की (रसिया, १९७९)
८. ला एन – म्याथ्यु कासोभित्ज (फ्रान्स, १९९५)
९. पर्फेक्ट डेज – विम वेन्डर्स (जर्मनी/जापान, २०२३)
१०. मेमोरिया – अपिचातपोङ विरासेथाकुल (थाइल्याण्ड, २०२१)









प्रतिक्रिया