सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’को तेस्रो तथा अन्तिम भाग ‘दृश्यम : द कन्क्लूजन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता अजय देवगन एकपटक फेरि विजय सालगाउँकरको भूमिकामा देखिएका छन् । फिल्मको ट्रेलरमा विजयले आफ्नो परिवारलाई बचाउन फेरि संघर्ष गरिरहेको देखिन्छ। तर, यसपटक उनीसामु प्रहरीको अनुसन्धान पहिलेभन्दा थप पेचिलो बनेको छ।
विजयले वर्षौंदेखि लुकाउँदै आएको हत्याको रहस्य पत्ता लगाउन क्राइम ब्रान्चका एसपी राजवीर सिंह तोमर जुनसुकै हदसम्म जाने प्रण गरेका छन्। अभिनेता जयदीप अहलावतले तोमरको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा विजय र एसपी तोमरबीचको ‘क्याट एन्ड माउस गेम’लाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
अनुसन्धान अघि बढ्दै जाँदा पुराना रहस्यहरू फेरि सतहमा आउने र सालगाउँकर परिवार नयाँ संकटमा फस्ने संकेत ट्रेलरले गरेको छ। परिवारलाई जोगाउन विजयले पनि जुनसुकै जोखिम उठाउन तयार रहेको देखाइएको छ।
यसपटक फिल्ममा वकिलको भूमिकामा अभिनेता प्रकाश राजको प्रवेशले कथालाई थप रोचक बनाएको छ। अघिल्ला भागमा देखिएका तब्बू, श्रिया सरन, रजत कपुर, इशिता दत्ता र मृणाल जाधवलगायत कलाकार पनि तेस्रो भागमा फर्किएका छन्।
अभिषेक पाठकको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र कथावस्तु भने नयाँ रहेको निर्माण पक्षले जनाएको छ। कथा ‘दृश्यम २’को अन्त्यबाटै अघि बढ्ने बताइएको छ।









प्रतिक्रिया