सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आएका नेपाली फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ सुरुवाती दिनदेखि नै दर्शकको ध्यान तान्ने प्रतिस्पर्धामा छन् । फरक कथावस्तु, कलाकारको आकर्षण र प्रस्तुतिको भिन्नतासहित हलमा आएका यी तीन फिल्मबीचको बक्स अफिस प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
गत शुक्रबार अर्थात् असोज ३० गतेदेखि प्रदर्शनमा आएका ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ तथा शनिबार अर्थात् असोज ३१ गतेदेखि हलमा लागेको ‘छ माया छपक्कै २’ बीच अहिले बक्स अफिसमा प्रतिस्पर्धा चलिरहेको छ। हामीलाई प्राप्त व्यावसायिक विवरणअनुसार, प्रदर्शनरत तीन फिल्ममध्ये ‘आ बाट आमा २’ अगाडि देखिएको छ।
‘आ बाट आमा २’को ग्रस कमाइ २ करोड ७२ लाख
चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ले आमाको माया र सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्मको ग्रस कमाइ २ करोड ७२ लाख रुपैयाँ पुगेको स्रोतले जानकारी दिएको छ। फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ। पारिवारिक कथावस्तु र भावनात्मक प्रस्तुतिमार्फत दर्शकको मन जित्ने प्रयास गरेको यस फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन्।

‘छ माया छपक्कै २’को ग्रस कमाइ २ करोड १४ लाख
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ले पारिवारिक सम्बन्ध, प्रेम, विश्वास, आशा र धोकाजस्ता विषयलाई समेटेको छ। फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन्। रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपकराज गिरी राइडरको भूमिकामा प्रस्तुत भएका छन्।
फिल्मले घरेलु बजारमा २ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको स्रोतले जानकारी दिएको छ। फिल्ममा मेक्सम गौडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे र कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।
‘१२ गाउँ २’को व्यापार अपेक्षाकृत सुस्त
विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ एक्सनप्रधान फिल्म हो। एक्सन दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथालाई जोडेर निर्माण गरिएको यस फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन्। विसं २०८१ को दसैँमा घरेलु बजारमा झन्डै २० करोड रुपैयाँ ग्रस कमाइ गरेको यस फिल्मको दोस्रो भागले भने यसपटक त्यही गति समात्न सकेको देखिँदैन।
फिल्मले हालसम्म १ करोड ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको स्रोतले जानकारी दिएको छ। फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्मबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली फिल्म क्षेत्रमा पदार्पण गरेका छन्।







प्रतिक्रिया