सबस्त इन्टरटेनमेन्ट, काठमाडौं । रकिङ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ प्रदर्शनअघि नै चर्चामा थियो। गीतु मोहनदासको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन १०१ करोड १० लाख भारुको बम्पर ओपनिङ गरेको थियो। तर, दोस्रो दिनदेखि नै फिल्मको कमाइमा ठूलो गिरावट आएको बताइएको छ। अपेक्षाअनुसार व्यापार गर्न नसक्नुमा फिल्ममाथि आएका नकारात्मक समीक्षा प्रमुख कारण रहेको चर्चा भइरहेको छ।
यहीबीच ‘टक्सिक’का डबिङ सुपरभाइजर जयदेव मोहनले फिल्मको प्रदर्शनपछि यशको प्रतिक्रियाबारे खुलासा गरेका छन्। प्रजावाणीको युट्युब च्यानलसँग कुराकानी गर्दै जयदेवले फिल्म रिलिजपछि आफूले यशसँग प्रत्यक्ष भेट नगरे पनि फोनमा दुईपटक कुराकानी भएको बताए।
फिल्म रिलिजको दिन आएका समीक्षा र दर्शकको प्रतिक्रियाले आफू भावुक बनेको जयदेवले बताए। उनका अनुसार त्यही समयमा यशले फोन गरेर धेरै चिन्ता नगर्न र फिल्मलाई दर्शककै हातमा छाडिदिन भनेका थिए। यशको भनाइ उद्धृत गर्दै जयदेवले भने, ‘दर्शकको इच्छा हो, अब अगाडि पनि काम गर्नुपर्छ।’
‘टक्सिक’का लागि यशले चार वर्षभन्दा बढी समय दिएको विषयमा प्रश्न गरिँदा जयदेवले फिल्मको असफलताले आफूहरूलाई दुःखी बनाएको संकेत गरे। यस्तै, अन्य कलाकारले यशको स्टारडम कम गर्ने प्रयास गरिरहेका छन् कि भन्ने प्रश्नमा उनले यश यस्तो परिस्थितिको सामना गर्न तयार रहेको दाबी गरे।
यशसँग यस्तो अवस्थासँग जुध्ने ‘डिफेन्स मेकानिज्म’ तयार रहेको बताउँदै जयदेवले उनलाई पराजित गर्न त्यति सजिलो नभएको बताए। ‘टक्सिक’मा गीतु मोहनदासले निर्देशनसँगै लेखन पनि गरेकी छन्। फिल्मको कथा, पटकथा र संवादमा यशको समेत सहलेखन रहेको छ। यशले केभीएन प्रोडक्सन्सका वेङ्कट के. नारायणसँग मिलेर मोन्स्टर माइन्ड क्रिएसन्समार्फत फिल्म निर्माण गरेका हुन्।
फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्तको पनि महत्वपूर्ण भूमिका रहेको छ। ‘टक्सिक’ २६ अगस्टमा प्रदर्शनमा आएको थियो।









प्रतिक्रिया