सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो।

ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको पावरप्याक एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ। परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्म एक्सनप्रधान रहेको संकेत गर्छ।

यसअघि निर्माण, निर्देशन तथा अभिनयसमेत गरेको फिल्म ‘भैरव’बाट एक्सन अवतारमा चर्चा बटुलेका निखिलले ‘आचार्य’मा एक्सनलाई अझ फराकिलो बनाएको ट्रेलरबाट देखिन्छ। पछिल्लो समय नेपाली फिल्ममा कम हुँदै गएको ‘मास इन्टरटेनर’ शैलीलाई पुनः मूलधारमा ल्याउने प्रयासका रूपमा पनि ‘आचार्य’लाई हेरिएको छ।

नेपालमा विदेशी फिल्मको दबदबा रहँदा नेपाली बजेट, नेपाली कन्टेन्ट र नेपाली श्रमशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रियस्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले ‘आचार्य’ निर्माण गरिएको निखिलले बताए।

‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ निखिलले भने। आफूले हरेक फिल्ममार्फत केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै उनले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको बताए।

‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु। दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ,’ उनले भने।

‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव-नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेकी छन्।

फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको फिल्मको एक्सन निर्देशन शुक्रराज शाहले गरेका हुन्। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।

फिल्मलाई मनोज राठीले वितरण गर्दैछन्। नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com