सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्र बीके अर्थात् विजय बरालको एआईसँगको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। यस्तै, काजी अर्थात् दयाहाङ राई र मैयाको प्रवेश पनि आकर्षक शैलीमा देखाइएको छ। मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन्।

त्यसपछि अभिनेता विपीन कार्कीको प्रवेशले टिजरलाई थप रोचक बनाएको छ। उनको संवाद बोल्ने शैलीले दर्शकको ध्यान खिच्ने देखिन्छ। अन्तिममा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ। टिजर हेर्दा अघिल्लो शृङ्खला ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, त्यहीँबाट नयाँ कथाको सुरुवात गरिएको संकेत मिल्छ।

विशेषगरी विजय बराल र विपीन कार्कीका पात्रसँगै नयाँ मैयाका रूपमा प्रस्तुत भएकी सिर्जना गुरुङको चरित्रले दर्शकमाझ चासो बढाएको छ। निर्देशक गुरुङले पनि फिल्ममा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।

फिल्म यस वर्षको दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। यस्तै, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।

अघिल्लो शृङ्खला ‘कबड्डी ४ः द फाइनल म्याच’मा मुख्य भूमिकामा रहेकी अभिनेत्री मिरुना मगरलाई भने फिल्मका प्रचार सामग्रीमा अहिलेसम्म गोप्य राखिएको छ। बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको छ।

सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको फिल्मका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। फिल्मलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com