सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा कृष्णको भूमिकामा रहेका पल शाहले मलिका महतलाई बोकेर हिँडिरहेको दृश्य देखाइएको छ। आमाको औषधि लिन अस्पताल गएका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने कुरा गरेको देखिन्छ। त्यही क्रममा आमाले फोन गर्दा उनले उठाउँदैनन्। घर फर्किएपछि आमा सुतिरहेको देख्दा कृष्ण डराएको दृश्य टिजरमा प्रस्तुत गरिएको छ।

दसैँको परिवेश र पारिवारिक संवेदनालाई केन्द्रमा राखिएको टिजरले आमाछोराबीचको सम्बन्ध र भावनात्मक कथालाई अगाडि बढाएको छ। ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषयवस्तु बनाइएको फिल्ममा परिवार, माया र आमाको प्रतीक्षालाई कथाको केन्द्रमा राखिएको निर्माणपक्षले जनाएको छ।

टिजरमा पल शाह, मलिका महत र विपना थापालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।

विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको कथा, पटकथा तथा निर्देशन चन्द्र पन्तको हो। रोशन भट्ट र चन्द्र पन्तले लेखेको फिल्मको संवाद रोशन भट्टले तयार पारेका हुन्।

फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत र गम्भीर विष्टको नृत्य निर्देशन रहेको फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन्। फिल्मको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल फिल्मको डिजिटल साझेदार रहेको छ भने नेपालभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com